‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल २०२५’ को उपाधि वेस्टमिन्स्टर कलेजलाई

काठमाडौं — पहिलोपटक आयोजना गरिएको क्याम्पसस्तरीय ई–स्पोर्ट्स प्रतियोगिता ‘पब्जी मोबाइल क्याम्पस क्लब नेपाल (PMC Nepal) २०२५’ को उपाधि द वेस्टमिन्स्टर कलेजले जितेको छ।

पब्जी मोबाइल नेपालले आयोजना गरेको प्रतियोगितामा वेस्टमिन्स्टर कलेजले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धी कलेजहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो।

प्रतियोगिताको ग्रान्ड फाइनल काठमाडौंस्थित द ब्रिटिस कलेजको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा काठमाडौंका १६ प्रतिष्ठित कलेजहरूले सहभागिता जनाएका थिए। सहभागी कलेजहरूमध्ये ग्लोबल कलेज अफ टुरिज्म एन्ड हस्पिटालिटी, पाटन कलेज फर प्रोफेसनल स्टडिज, प्रेसिडेन्सियल कलेज, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी, काष्ठमण्डप कलेज, काठमाडौँ मोडल कलेज, सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्स, मदन भण्डारी मेमोरियल कलेज, एडभान्स कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट, एसीएमई इन्जिनियरिङ कलेज, किंग्स कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, द ब्रिटिस कलेज र विजेता वेस्टमिन्स्टर कलेज रहेका थिए।

वेस्टमिन्स्टर कलेजले कुल पाँच खेलमा ११० अंक जोड्दै उपाधि जित्न सफल भयो। टोलीले तीन खेलमा ‘विनर विनर चिकेन डिनर’ हात पार्दै प्रदर्शनमा प्रभुत्व जमाएको थियो। प्रतियोगिताबाट वेस्टमिन्स्टरले ७० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ।

त्यसैगरी, प्रतियोगितामा मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीले ५५ अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा आयोजक द ब्रिटिस कलेज ४५ अंकसहित तेस्रो स्थानमा रह्यो।

व्यक्तिगत विधातर्फ वेस्टमिन्स्टर कलेजका खेलाडी WD Kris सर्वोत्कृष्ट खेलाडी घोषित भए।

‘क्याम्पस एम्ब्यासडर’ विधामा प्रेसिडेन्सियल कलेजका सजेस श्रेष्ठ प्रथम घोषित भए र २५ हजार रुपैयाँ प्राप्त गरे। दोस्रो स्थानमा मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीका पेमा लामा रहँदै १५ हजार रुपैयाँ जिते भने सफ्टवारिका कलेजका सुशान बडेल तेस्रो स्थानमा रहँदै १० हजार रुपैयाँ प्राप्त गरे।

ई–स्पोर्ट्सको बढ्दो लोकप्रियता र युवाहरूको चासोलाई ध्यानमा राखी आयोजना गरिएको यो प्रतियोगिता विद्यार्थीहरूको सिर्जनात्मकता, रणनीतिक सोच र टोली समन्वय क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया