पञ्जाबसँगको हारले चेन्नईको प्लेअफ यात्रा सकियो

काठमाडौं, — पञ्जाब किङ्ससँग ४ विकेटको हारसँगै चेन्नई सुपर किङ्सको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ। बुधबार एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्दै महत्वपूर्ण जित दर्ता गर्‍यो।

पञ्जाबका कप्तान श्रेयस ऐय्यरले उत्कृष्ट ७२ रन बनाए भने ओपनर प्रविसिम्रन सिंहले ५४ रनको योगदान दिए। अन्य खेलाडीहरूमध्ये प्रियांशु अर्या र शशांक सिंहले समान २३/२३ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए।

चेन्नईका बलरमध्ये खलील हमिद र माथेसेना पाथिरानाले समान २–२ विकेट लिए भने रविन्द्र जडेजा र नुर अहमदले १–१ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई १९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। चेन्नईका लागि साम करणले सर्वाधिक ८८ रन बनाए। ओपनर साइक रसिदले ११, आयुष माथ्रेले ७, रविन्द्र जडेजाले १७ र डिवलाड ब्रेवीसले ३२ रन बनाए। कप्तान एमएस धोनी ११ रनमै आउट भए।

पञ्जाबका युज्वेन्द्र चहलले ह्याट्रिक सहित ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यो सिजनको पहिलो ह्याट्रिक हो भने चहलको आईपीएल करिअरको दोस्रो ह्याट्रिक हो। आर्शदीप सिंह र मार्को यान्सनले २–२ विकेट लिए भने अजमतुल्ला ओमरजाई र हरप्रीत ब्रारले १–१ विकेट लिए।

जितसँगै पञ्जाब १० खेलमा ६ जित, ३ हार र एक बराबरीसहित १३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चेन्नई भने १० खेलमा केवल २ जितसहित ४ अंकमै सीमित रहँदै प्लेअफको दौडबाट बाहिरिएको छ।

आईपीएल अन्तर्गत आज (बिहीबार) राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

तपाईको प्रतिक्रिया