पक्राउ प्रयासको दाबी अधिवक्ता स्वागत नेपालबाट, साइबर ब्युरोले भन्यो– कुनै कारबाही चलेको छैन

काठमाडौं, – अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूलाई साइबर ब्युरोले पक्राउ गर्न खोजेको दाबी गरेका छन्। तर, नेपाल प्रहरीको साइबर ब्युरोले उक्त दाबीको खण्डन गर्दै कुनै पनि औपचारिक प्रक्रिया नचलेको स्पष्ट पारेको छ।

नेपालले सोमबार लक्ष्मीपूजाको दिन फेसबुकमा भिडियोमार्फत अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बनेको सरकारप्रति आलोचनात्मक टिप्पणी गरेका थिए। उनले सरकारमा “निरंकुश प्रवृत्ति देखा परेको” आरोप लगाउँदै आफूलाई अभिव्यक्ति स्वतन्त्रताका आधारमा लक्षित गरिएको दाबी गरे।

उनले भिडियोमा भने, “मैले प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठाएको हुँ, यो व्यक्तिगत आक्रमण होइन। यसअघि पनि विभिन्न प्रधानमन्त्रीहरूविरुद्ध प्रश्न उठाएको थिएँ।”

स्वागत नेपालका अनुसार, सामाजिक सञ्जालमा व्यक्त विचारलाई रोक्ने प्रयास भइरहेको छ, जुन अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हो। “प्रश्न उठाउनु अपराध होइन। सरकारलाई आलोचना सुधारको अवसर हो, नकि दमनको बहाना,” उनले भने।

उनले आफूलाई पक्राउ गर्ने तयारी भइरहेको संकेत गर्दै भने, “यदि आइहाल्नुपर्छ भने आइहाल्छु। तर अदालत बन्द छ, पक्राउ पुर्जी दिनुपर्ने हो।” उनले व्यङ्ग्य गर्दै भने, “साइबर ब्युरोका तर्फबाट तिहार मनाउन सुझाव दिइएको छ। मैले पनि भनेँ, भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, जरुरी परे आउँछु।”

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानसम्मत नभएको दाबी गर्दै नेपालले भनेका छन्, “संविधान अनुसार उहाँ आफैं प्रधानमन्त्री बन्न मिल्दैन। संविधानभन्दा बाहिरको समाधान स्वीकार्य छैन।”

उनले अभिव्यक्ति स्वतन्त्रताको सीमामा हस्तक्षेप गरिएको भन्दै सरकार आलोचना सहन नसक्ने अवस्थामा पुगेको बताए। “अबको प्रश्न केवल सुशिला कार्कीसँग होइन, देश र आगामी पुस्तासँग जोडिएको हो,” उनले भने।

तर, नेपाल प्रहरीको साइबर ब्युरोले भने स्वागत नेपाललाई बोलाइएको वा अनुसन्धान थालिएको कुनै जानकारी नरहेको जनाएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीका अनुसार, “हामीसँग स्वागत नेपाललाई बोलाइएको वा सोधपुछ गरिएको कुनै आधिकारिक विवरण छैन।”

तपाईको प्रतिक्रिया