न्युयोर्कको पहिलो मुस्लिम र दक्षिण एसियाली मेयर बने ममदानी

काठमाडौं । ३४ वर्षीय राज्य सांसद जोहरान क्वामे ममदानी न्युयोर्क सहरका १११औँ मेयरका रूपमा निर्वाचित भएका छन्। उनी यस सहरका इतिहासमै पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर हुन्।

ब्रुकलिनका सम्पन्न गल्लीदेखि क्विन्सका आप्रवासी श्रमिक बस्तीहरूमा फैलिएको मतदाताको व्यापक समर्थनले ममदानीको जितलाई न्युयोर्कको राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ।

डेमोक्रेटिक समाजवादी ममदानीले गत जुनमा सम्पन्न डेमोक्रेटिक प्राइमरीमा पूर्वगभर्नर एन्ड्रयू एम. कुओमोलाई पराजित गरेका थिए। लगातार दोस्रो पटक प्रभावशाली राजनीतिक व्यक्तित्व पराजित भएपछि यो परिणामलाई न्युयोर्कवासीहरूको परिवर्तनप्रतिको चाहनाको प्रतिबिम्बका रूपमा लिइएको छ।

रिपब्लिकन उम्मेदवार कर्टिस स्लिभा भने टाढा तेस्रो स्थानमा सीमित भए।
यसपटक सहरका दुई मिलियनभन्दा बढी मतदाताले मतदान गरे, जुन सन् १९६९ यता भएको सबैभन्दा उच्च सहभागिता हो।

क्वीन्सका सांसद ममदानी एक वर्षअघि ठूलो राजनीतिक परिचयबिना नै मैदानमा उत्रिएका थिए। तर, किफायती आवास, सामाजिक सञ्जालमा सक्रियता र सकारात्मक अभियानका कारण उनी युवापुस्ता र आप्रवासी समुदायबीच लोकप्रिय बने। यही समर्थनले उनलाई अनुभवी प्रतिस्पर्धीहरूलाई पछि पार्दै मेयर पदमा पुर्‍यायो।

भारतीय मूलका अभिभावकका सन्तान ममदानीको जन्म युगान्डामा भएको हो। उनी सन् १९७० को दशकमा अब्राहम बीमपछि मेयर बन्ने सबैभन्दा युवा नेताको रूपमा पनि दर्ज भएका छन्।

ममदानीले आफ्नो अभियानलाई न्युयोर्कको परम्परागत राजनीतिक संरचनाविरुद्धको ‘परिवर्तनको आवाज’का रूपमा प्रस्तुत गरेका थिए। उनले धनीमाथि कर बढाउने, सार्वजनिक बस र बाल हेरचाह निःशुल्क गर्ने, भाडा नियन्त्रणमा कडाइ गर्ने र प्रहरी सुधारका पक्षमा नीति अघि सारेका छन्।

तर जनवरी १ मा पदभार सम्हाल्ने ममदानीका लागि चुनौती पनि कम छैन। केही यहूदी समुदाय र व्यवसायिक समूहहरूले उनको नीतिप्रति शंका व्यक्त गरेका छन्।

अर्कोतर्फ, राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावअघि नै ममदानीलाई आलोचनाको निशाना बनाउँदै ‘कम्युनिस्ट मेयर’को संज्ञा दिएका थिए। ट्रम्पले ममदानीले संघीय नीतिसँग असंगत कदम चाल्ने हो भने न्युयोर्कमा कोष कटौती र राष्ट्रिय गार्ड परिचालन गर्ने चेतावनीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया