नेप्से सूचक हल्का घट्यो, कारोबार घटेर चार अर्ब ४८ करोडमा

काठमाडौँ — चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक भए पनि मंगलबार (मंसिर १६) सेयर बजारमा खासै उत्साह देखिएन। साताको तेस्रो कारोबार दिन नेप्से सूचक ०.५३ अंकले घटेर २,६४४.७० बिन्दुमा बन्द भएको छ।

मंगलबार कुल ३२४ कम्पनीको सेयर कारोबार भयो। तीमध्ये १२५ कम्पनीको मूल्य बढ्यो, ११९ कम्पनीको घट्यो र १३ कम्पनीको मूल्य स्थिर रह्यो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ। यस दिन सेयर बजारमा ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। सोमबार भने ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको थियो।

यस दिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेकका सेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, युनियन हाइड्रोपावरको सेयरमा सर्वाधिक ३१ करोड ८१ लाख ३५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

तपाईको प्रतिक्रिया