नेप्से र कारोबार दुवै घट्यो

काठमाडौं, वैशाख १७ — साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। अघिल्लो दिन सोमबार १४ अंकले घटेको नेप्से परिसूचक आज थप १५.०८ अंकले घटेर २,६३१.९८ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घट्दै ४४३.५४ विन्दुमा पुगेको छ।

बजार घटेसँगै कारोबार रकम पनि घटेको देखिएको छ। आज कुल ३११ कम्पनीका १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर किनबेच हुँदै कुल कारोबार ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँमा सीमित रह्यो। सोमबार ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

बजार घट्दा समेत दुई कम्पनी—क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स—का सेयरहरू भने सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

अर्कोतर्फ, भूगोल इनर्जी डेभलपमेन्टको सेयर ९.०१ प्रतिशतले घट्दा, राधी विद्युत कम्पनीको ७ प्रतिशतले वृद्धि भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ६.६३ प्रतिशतले घटेको छ।

सबैभन्दा बढी घाटा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले बेहोर्नुपर्‍यो, जसको सेयर मूल्य ९.८८ प्रतिशतले घट्यो।

कारोबार रकमका हिसाबले सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ८२ करोड ४३ लाख बराबरको सेयर किनबेच भयो। त्यस्तै नगदी ग्रुप पावरको ६२ करोड, राधी विद्युतको ४६ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २५ करोड, र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २३ करोड बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ५७ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। समूहगत उपसूचकमा म्युचुअल फन्डबाहेक सबै समूहको प्रदर्शन नकारात्मक देखिएको छ। सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.२२ प्रतिशतले घटेको हो।

तपाईको प्रतिक्रिया