नेप्से परिसूचक सामान्य रूपमा बढ्यो, कारोबार रकम छ अर्ब नाघ्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक १ दशमलव ५२ अङ्कले वृद्धि हुँदै २ हजार ६४१ दशमलव ४३ बिन्दुमा पुगेको छ।

नेप्सेका अनुसार आज ३२० कम्पनीका एक करोड २५ लाखभन्दा बढी कित्ता शेयर ७२ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब २० करोड रुपैयाँ नाघेको छ।

आजको कारोबारमा विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापार समूहका उपसूचकहरू बढेका छन्। बाँकी अधिकांश समूहका सूचकमा भने गिरावट देखिएको छ।

बैंकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहका सूचकहरू आज घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ हेर्दा सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने आइसिएफसी फाइनान्स लिमिटेडको डिबेन्चर–२०८८ को मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।

कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहँदा, कारोबार भएका शेयर सङ्ख्याका आधारमा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया