नेप्सेमा निरन्तर सुधार, ७ अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं — साताको पहिलो दिन आइतबारदेखि सुधारको संकेत देखाएको सेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ विन्दुमा पुगेको छ।

यसअघि आइतबार नेप्से २६.५३ अंकले र सोमबार ९.१९ अंकले वृद्धि भएको थियो। मंगलबारको सुधारसँगै सेयर कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ।

बजार खुलेको दिन मंगलबार ३०९ स्क्रिप्टको कुल १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ नाघेको छ। सोमबार ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यद्यपि नेप्से परिसूचक दोहोरो अंकले बढ्दा पनि कुनै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट स्तरमा पुगेको छैन। सामुदायिक लघुवित्त वित्तीय संस्था र नगदी हाइड्रोपावरको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ। बरुण हाइड्रोपावर, राप्ती हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्सको सेयर पनि ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

कारोबार मूल्यका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी ४६ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रह्यो। राधी विद्युत कम्पनीको ४५ करोड रुपैयाँको कारोबार भयो भने बुटवल पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र युनियन हाइड्रोपावरले क्रमशः २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्।

आजको कारोबारमा २१७ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने ३१ कम्पनीको मूल्य घटेको छ। सूचीकृत समूहहरूमा इन्भेस्टमेन्ट र माइक्रोफाइनान्स समूहको उपसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा अन्य समूहहरूमा पनि हरियाली छाएको देखिन्छ।

तपाईको प्रतिक्रिया