नेपाल बनाउन हामी आफैंले गर्नुपर्छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरूको हिम्मत, आशा र उद्यमशीलता आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आयोजना गरेको ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूले भविष्यप्रति आशावादी भएर निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए।

“भविष्य परित्याग गरियो भने केही बाँकी रहँदैन। तर, हामी आशावादी छौं, हिम्मत छ भने सम्भव छ,” प्रधानमन्त्री ओलीले भने, “हामी सन् २०२६ मा विकसित मुलुकतर्फको यात्रामा छौँ, र त्यो सम्भव बनाउन हामी आफैंले काम गर्नुपर्छ।”

उनले प्रविधिको प्रयोग, विकास र व्यवहारमार्फत आधुनिकीकरण र उत्पादन वृद्धिमा केन्द्रित हुनुपर्ने बताए। “हाम्रो देश अरू कसैले आएर बनाइदिँदैन, हामीले नै बनाउनु हो,” प्रधानमन्त्रीले भने, “हामी सबै मिलेर लाग्यौं भने सम्भव छ – वि क्यान डु, नेपाल बन्छ।”

कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले स्टार्टअप उद्यमीहरूले प्रदर्शनीमा राखेका विविध उत्पादन तथा सेवाहरूको अवलोकन समेत गरे।

तपाईको प्रतिक्रिया