नेपाली श्रमिकलाई दासझैँ व्यवहार गर्न गन्तव्य देशलाई छुट छैन : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकप्रति गन्तव्य मुलुकहरूले गरिरहेको व्यवहारप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई दास सरहको व्यवहार गर्न नपाइने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित “श्रम सम्झौताका विकास, सौदाबाजी र कार्यान्वयन सम्बन्धी आवासीय तालिम” को उद्घाटन गर्दै मन्त्री भण्डारीले गन्तव्य मुलुकमा रहेका नेपाली श्रमिकहरूले त्यहाँको विकासमा महत्वपूर्ण योगदान दिइरहेका भए पनि कहिलेकाहीं उनीहरूलाई गरिने अमानवीय व्यवहार स्वीकार्य नहुने स्पष्ट पारे।

“आफ्नो देशमा श्रमशक्ति अभाव भएपछि नेपालबाट श्रमिक लाने गरिएको हो। गएका श्रमिकले ती देशको विकासमा उल्लेखनीय भूमिका खेलेका छन्,” मन्त्री भण्डारीले भने, “त्यस्तो अवस्थामा उनीहरूलाई दासझैँ व्यवहार गर्नु कुनै हालतमा स्वीकार्य छैन। नेपाली श्रमिकहरूले पनि अन्य देशका नागरिकसरह आधारभूत अधिकार पाउने हक राख्छन्।”

उनले नेपालले वैदेशिक रोजगारीमा जान चाहने नागरिकको हक, सुरक्षासहित मर्यादित जीवन सुनिश्चित गर्न गन्तव्य देशहरूसँग श्रम सम्झौता गर्दै आएको जानकारी दिए। “न्यूनतम तलब, स्वास्थ्य सेवा, बीमा, सामाजिक सुरक्षा, सुरक्षित र मर्यादित कार्यस्थल र पारदर्शी भर्ना प्रक्रिया” जस्ता विषय समेटेर श्रम सम्झौताहरू गरिने मन्त्री भण्डारीले बताए।

कार्यक्रममा श्रम सचिव कृण्णहरि पुष्कर कर्णले श्रमिकका अधिकार अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्यमान्यतासँग जोडिएको हुँदा त्यसबारे सौदाबाजी हुन नसक्ने प्रष्ट पारे। “श्रमिकका मौलिक हक र सुरक्षा सुनिश्चित गर्नुमा कुनै सम्झौता हुँदैन। सामाजिक सुरक्षा जस्ता विषयमा भने छलफलको गुञ्जायस रहन सक्छ,” उनले भने।

सचिव कर्णका अनुसार, नेपालले आईएलओका मार्गदर्शन, भियाना महासन्धी तथा श्रमिकसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताहरूलाई आधार मानी श्रम सम्झौताको मस्यौदा तयार पारेर गन्तव्य मुलुकहरूलाई प्रस्ताव पेश गरिरहेको छ।

तपाईको प्रतिक्रिया