नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन कार्यतालिकाबारे आन्तरिक मतभेदका कारण स्थगित

काठमाडौं, — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आन्तरिक मतभेदका कारण स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने तय गरिएको बैठक अब आइतबार दिउँसो १ बजेका लागि सारिएको हो।

बैठक स्थगित हुनुको मुख्य कारण पार्टीभित्र महाधिवेशन कार्यतालिकाबारे उत्पन्न विवाद रहेको बताइएको छ। शुक्रबार बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर आगामी महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न समय माग गरेका थिए।

महामन्त्री शर्माले मंसिरमा महाधिवेशन सम्भव नदेखिए पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए, जसमा महामन्त्री थापाले सहमति जनाएका थिए। तर, आजको बैठकमा कार्यतालिका प्रस्तुत नभए बैठकमा सहभागी नहुने अडान महामन्त्री थापाले कार्यवाहक सभापति खड्कासमक्ष राखेका थिए।

कार्यवाहक सभापति खड्काले भने आफू नियमित महाधिवेशनको पक्षमा रहेको र सबै नेतासँग छलफल गर्न केही दिन समय आवश्यक रहेको बताएका छन्।

सभापति शेरबहादुर देउवा पक्षका नेताहरू फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा छन् भने महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला भने चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जाने उनीहरूको धारणा छ।

महाधिवेशन कार्यतालिकामा सहमति नजुटेकै कारण केन्द्रीय समिति बैठक स्थगित गरिएको हो। नेताहरूबीच थप संवाद गरी सहमतिमै नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया