नेपालमा महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको आयोजना हुने

फाइल तस्बिर ।

काठमाडौं – नेपालले सन् २०२६ मा हुने आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायर आयोजना गर्ने पक्का भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार जानकारी दिँदै आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो।

नेपालमा यो महिला क्रिकेट इतिहासमा आयोजना हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

प्रतियोगितामा कुल १० टोली सहभागी हुनेछन्। हालसम्म बंगलादेश, आयरल्यान्ड, नेपाल, थाइल्यान्ड र अमेरिका गरी पाँच टोलीको सहभागिता निश्चित भइसकेको छ।

बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा खेलेको कारण सिधै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेका हुन्। त्यसैगरी, नेपाल र थाइल्यान्ड एसिया क्षेत्रीय छनोटबाट क्वालिफाई गरेका छन् भने अमेरिका अमेरिका क्षेत्रीय छनोटको विजेता बन्दै क्वालिफायरसम्म पुगेको हो।

आईसीसीका अनुसार बाँकी पाँच टोली अफ्रिका, युरोप र इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटबाट छनोट हुनेछन्। अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा इस्ट एसिया–प्यासिफिकबाट एक टोली ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया