नेपालमा जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्तावमा डब्लुएचओ सकारात्मक : मन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्तावमा विश्व स्वास्थ्य संगठन (WHO) सकारात्मक देखिएको बताएका छन्।

स्वीट्जरल्यान्डको जेनेभामा सम्पन्न ७८औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले आगामी वर्ष नेपालमा सम्मेलन आयोजना गर्न प्रस्ताव राखिएको जानकारी दिए।

उनका अनुसार जलवायु परिवर्तनका कारण नेपालजस्तो हिमाली मुलुकमा स्वास्थ्य समस्या फरक ढंगले देखिएको छ। त्यसैले, जलवायु र स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रिय बहस र सहकार्य आवश्यक भएको मन्त्री पौडेलको धारणा छ।

मन्त्री पौडेलले जलवायु स्वास्थ्य सम्मेलन आयोजना गर्न नेपाल तयार रहेको र यो पहलमा WHO समेत सकारात्मक रूपमा अघि बढ्न इच्छुक रहेको उल्लेख गरे।

त्यसैगरी, उनले स्वास्थ्य क्षेत्रमा नेपालले हालैका वर्षमा पुर्‍याएको प्रगतिलाई अन्य राष्ट्रहरूले पनि सकारात्मक दृष्टिकोणले हेरेको बताए। साथै, स्वास्थ्यमा प्रतिकूल असर गर्ने वस्तुहरूमा कर लगाउन डब्लुएचओले सुझाव दिएको र आफूले आगामी बजेटमा यस्ता वस्तुमा कर वृद्धिको प्रस्ताव अर्थ मन्त्रालयमा गरिसकेको जानकारी दिए।

नेपालबाट सम्मेलनमा सहभागी हुँदै मन्त्री पौडेलले सबै नागरिकसम्म स्वास्थ्य सेवा पुर्‍याउन स्रोत परिचालन र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएको पनि बताए।

तपाईको प्रतिक्रिया