नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि बाँके र बर्दियाका जनप्रतिनिधि तथा व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूले पश्चिम नेपालका ३२ जिल्लाका लागि सहज हवाई पहुँच सुनिश्चित गर्दै व्यावसायिक गतिविधि प्रवर्द्धन गर्न नेपालगन्ज–नयाँ दिल्ली सिधा हवाई सेवा आवश्यक रहेको तर्क गरेका थिए। उनीहरूको भनाइमा, नेपालगन्ज विमानस्थलमा आवश्यक पूर्वाधारको तयारी भइसकेको छ।

भेटमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीलाई औपचारिक ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री ओलीले आफू यस प्रस्तावप्रति सकारात्मक रहेको जनाउँदै भारत सरकारसँग आवश्यक समन्वय र छलफल थालिने आश्वासन दिएका छन्। साथै, उनले नेपालगन्ज विमानस्थलको धावनमार्ग विस्तार तथा जमिन संरक्षणलगायतका पूर्वाधारमा सरकारको ध्यान केन्द्रित हुने बताए।

तपाईको प्रतिक्रिया