नेपालगन्जमा दोस्रो राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको तयारी तीव्र

नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गतिमा अघि बढिरहेको छ।

प्रतियोगितामा सहभागि हुन सोमबारसम्म एक सयभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन्, आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जनाएको छ। प्रतियोगिता कात्तिक १४ र १५ गते नेपालगन्ज रङ्गशाला स्थित पौडी पोखरीमा आयोजना हुने छ।

नेपाल पौडी संघका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिष महर्जन र दिपक सागर सिंहले सोमबार पौडी पोखरीको निरीक्षण गरेका छन्। आयोजक क्लबका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगिता नेपालगन्जमा पौडी खेलाडीको संख्याबृद्धि र स्तर उन्नत गर्न सहयोग पुर्‍याउने बताए।

प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समूहका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्। सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कार प्रदान गरिनेछ।

यु–८ समूहका खेलाडीले २५ मिटर, यु–१० समूहले ५० मिटर, यु–१२ र यु–१४ समूहले ५० र १०० मिटर, तथा खुला समूहका खेलाडीले २०० र ४०० मिटर इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। कुल ५६ इभेन्टहरू आयोजना गरिएको छ, जसको जानकारी नेपालगन्ज स्वीमिङ क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणी अधिकारीले दिएका छन्।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का पदाधिकारी र अन्य अतिथिहरूको सहभागिता रहनेछ।

प्रतियोगिता नेपाल पौडी संघसँग सहकार्यमा आयोजना हुँदैछ र नेपालगन्ज न्युरो अस्पताल, सिद्धार्थ बैंक, जस्मिन पेन्ट्स, क्रिष्टिलो वाटर, वाल्किन र डटवर्कले सहयोग गरेका छन्।

तपाईको प्रतिक्रिया