नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्षको आग्रह


काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

फ्रान्सको पेरिसमा आयोजित ‘फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढ्दो ऊर्जा मागलाई पूरा गर्न नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। साथै, बजारको चिन्ता नगरी नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे।

उनका अनुसार सन् १९९९ अघि २५० मेगावाटमा सीमित रहेको विद्युत् उत्पादन क्षमता निजी क्षेत्रको सहभागिताले हाल ३,५०० मेगावाटसम्म पुगेको छ। योमध्ये ८० प्रतिशत अर्थात् २,८०० मेगावाट निजी क्षेत्रबाट उत्पादित हो।

कार्कीले फ्रान्सको साझेदारीले नेपाल–फ्रान्स सम्बन्धमा दिगोपन, समावेशिता, र जलवायु प्रतिरोधी ऊर्जा विकासको प्रतिबद्धता झल्काएको उल्लेख गरे।

त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना फ्रान्सको वित्तीय सहयोगमा अगाडि बढिरहेको पनि उनले स्मरण गरे। सो आयोजना लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) सँग मिलेर ४५३ मिलियन अमेरिकी डलर बराबरको ऋण प्रदान गरेको थियो।

उक्त आयोजनाबाट नेपालको ऊर्जा आपूर्तिमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया