नेकपा एसकी केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा प्रवेश

दाङ । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख उमा काफ्ले नेकपा (एमाले)मा प्रवेश गरेकी छन्।

बुधबार लमहीमा सुरु भएको एमालेको लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकको अवसरमा उनलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा स्वागत गरिन्।

बैठकमा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा मनोनीत सदस्यहरूको सपथ, ‘अन्तर पार्टी निर्देशन १२’ को अध्ययन, सचिवालय निर्णयको अनुमोदन, नयाँ सदस्य मनोनयन, २०८१ को वार्षिक कार्ययोजनाको समीक्षा र २०८२ को प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता र विधान महाधिवेशनको तयारीजस्ता विषयमा छलफल भइरहेको प्रदेश अध्यक्ष कँडेलले जानकारी दिए।

साथै, बैठकमा जिल्ला कमिटी, सल्लाहकार कमिटी र विभिन्न विभागीय बैठकसम्बन्धी प्रस्तावहरू पनि पेस गरिएको छ।

तपाईको प्रतिक्रिया