निर्वाचनका बेला संयमित भूमिका आवश्यक : सभापति लामिछाने

चितवन,: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा पार्टीका नेता तथा कार्यकर्ताले संयमित र जिम्मेवार व्यवहार प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन्।

भरतपुरस्थित रास्वपाको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति लामिछानेले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिँदै मर्यादित ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।

उनले पार्टी समर्थकहरूको व्यवहारका विषयमा सार्वजनिक रूपमा उठ्ने आलोचनालाई स्मरण गर्दै सभ्य र सुसंस्कृत राजनीतिक अभ्यासतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। वर्तमान समय सूझबुझका साथ अघि बढ्नुपर्ने समय भएको उनको भनाइ थियो।

सभापति लामिछानेले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षको रूपमा उल्लेख गर्दै चुनाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरे। उनले निर्वाचन नै विद्यमान बेथितिको अन्त्य गर्ने उपयुक्त माध्यम भएको धारणा व्यक्त गरे।

रास्वपाले राजनीतिक प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई सबैप्रति जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। देश र भावी पुस्ताको अपेक्षा पूरा गर्न पार्टीलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

उनले उम्मेदवार छनोटको प्रक्रियामा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई प्राथमिकतामा राखेर अघि बढिरहेको पनि बताए।

तपाईको प्रतिक्रिया