नवराज सुवेदी नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा गठित ‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि अनिश्चितकालीन ‘जनआन्दोलन’ को घोषणा गरेको छ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संयोजक नवराज सुवेदीले जनआन्दोलनको घोषणा गरेका हुन्। उनले भने, “हामीले शुरू गर्ने यो जनआन्दोलनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बिपी), शिव सेना लगायतका पार्टीहरूको समर्थन रहेको छ।”

सुवेदीले जनआन्दोलनको घोषणा गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट समेत उपस्थित थिए। यद्यपि, प्रारम्भमा सुवेदीको नेतृत्वमा गठन भएको समितिमा लिङ्देन, थापा र विष्टले सामेल नहुने घोषणा गरेका थिए।

आजको पत्रकार सम्मेलनमा उनीहरू उपस्थित भई आन्दोलनको समर्थन गरेका थिए। सुवेदीले भने, “हामीले आन्दोलनको माध्यमबाट उन्नत र प्रजातान्त्रिक प्रणाली स्थापना गर्नेछौं। हाम्रो लक्ष्य संवैधानिक राजसंस्था पुनर्स्थापना, सनातन हिन्दू अधिराज्य, संघीयता खारेजी, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनासम्मका विषयमा केन्द्रित हुनेछ।”

सुवेदीले जनआन्दोलनलाई शान्तिपूर्ण राख्ने र कुनै पनि दल वा सरकारविरूद्ध नलड्ने, बरु सर्वसत्तावादको अन्त्य गर्ने उद्देश्य रहेको स्पष्ट पारे। यसैगरी, उनले केन्द्र र स्थानीय तहको सरकारलाई सुदृढ पार्ने योजना पनि प्रस्तुत गरे।

२०६५ जेठ १५ गते गणतन्त्रको घोषणा भएदेखि उनीहरूको आन्दोलन प्रारम्भ हुने बताइएको छ। आन्दोलन शान्तिपूर्ण हुने भन्दै उनले जनदबाव सिर्जना गर्नको लागि १५ गतेबाट अनिश्चितकालीन संघर्ष सुरू गर्ने घोषणा गरेका छन्।

यसअघि, चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भएको थियो। त्यस प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो र विभिन्न सम्पत्ति क्षति पुगेको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले म्याद लिएर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया