नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट


काठमाडौं ।नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर नियुक्तिमा प्रक्रिया र योग्यता सम्बन्धी गम्भीर प्रश्न उठाउँदै रिट दर्ता गराएका हुन्।

रिटमा गभर्नर चयन प्रक्रिया पूर्व निर्धारित जस्तो देखिएको आरोप लगाउँदै, पौडेललाई पहिले नै उम्मेदवारको रूपमा सुनिश्चित गरी पछि मात्र सिफारिस समितिबाट नाम अगाडि सारिएको दाबी गरिएको छ। वकिलहरूले यसलाई ‘म्याच फिक्सिङ’ शैलीको नियुक्ति भनेका छन्।

सर्वोच्च अदालत प्रशासनले उक्त रिटको अध्ययन भइरहेको जनाउँदै, आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि दर्ता गर्ने वा नगर्ने विषयमा निर्णय हुने बताएको छ।

रिटमा उल्लेख भएअनुसार, डा. पौडेलले प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, र अर्थशास्त्रको इतिहास अध्ययन गरेका छन् भने उनी कृषि अर्थशास्त्रमा विद्यावारिधी (PhD) प्राप्त छन्। यस्ता शैक्षिक पृष्ठभूमि गभर्नर पदको लागि पर्याप्त नभएको दाबी गर्दै, नियुक्ति असंवैधानिक रहेको आरोप लगाइएको छ।

साथै, सिफारिस समितिका सदस्यले राजीनामा दिएर गभर्नर पदमा नियुक्ति पाउनुले सुशासनका मान्यतालाई चुनौती दिएको भन्दै रिटमा उक्त नियुक्ति खारेज गर्न माग गरिएको छ।

तपाईको प्रतिक्रिया