नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा झापाका शिक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले शिक्षक देवी निरौलाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिएको छ।

अख्तियारका अनुसार शिक्षक निरौलाले विद्यालयको प्रावि तह तृतीय श्रेणीको पदमा नियुक्ति पाउन भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट प्राप्त मध्यमा परीक्षा उत्तीर्ण प्रमाणपत्र प्रस्तुत गरेका थिए। आयोगले सो प्रमाणपत्र नक्कली ठहरिएको दाबी गरेको छ।

आयोगले दायर गरेको अभियोगपत्रमा उल्लेख अनुसार, सो प्रमाणपत्रका आधारमा शिक्षकले सरकारी सेवाबाट तलब, भत्ता तथा अन्य सुविधा प्राप्त गरेको र सो कार्य भ्रष्टाचारजन्य आचरण अन्तर्गत पर्ने उल्लेख गरिएको छ।

अख्तियारले विशेष अदालतसँग कैद सजाय र जरिवानाको माग दाबीपत्रमा गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया