धुम्रपान र प्रदूषणले बढाएको नेपालमा नसर्ने रोगको त्रास

काठमाडौँ, — नेपालमा नसर्ने रोगहरू जस्तै मुटु रोग, क्यान्सर र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगहरू धेरै देखिन थालेका छन्। यसबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सकी डा. मनिता प्याकुरेलले हाल यी रोगहरू निकै बढेको बताउनुभएको छ।

डा. प्याकुरेलका अनुसार, प्रमुख नसर्ने रोगमध्ये मुटु रोगले ३० प्रतिशत, क्यान्सरले ९ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगले १० प्रतिशत हिस्सा ओगटेको छ।

नेपालमा सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत भाग नसर्ने रोगले ओगटेको थियो। त्यो संख्या सन् २०१४ मा ६० प्रतिशत र सन् २०१६ मा ६६ प्रतिशत पुगेको छ। सन् २०१९ मा, ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनअनुसार कुल मृत्युको ७१.१ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको देखिएको छ।

नसर्ने रोगको उपचारमा खर्च अत्यधिक हुने र स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी खर्च यसैमा हुने गर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ४३ लाख व्यक्तिको मृत्यु नसर्ने रोगका कारण हुने गर्छ। साथै, सन् २०५० सम्म यी रोगहरू विश्वव्यापी मृत्युको पाँच प्रमुख कारण बन्ने अनुमान गरिएको छ।

यसका मुख्य कारणहरूमा धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, मद्यपान र वायु प्रदूषणलाई प्रमुख मानिएको छ।

तपाईको प्रतिक्रिया