धानखोला–लमही खण्ड चार लेनमा निर्माणको मागसहित स्थानीय आन्दोलनमा

रुपन्देही: एमसीसी परियोजना अन्तर्गत दाङ देउखुरी क्षेत्रको धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको टेन्डर प्रक्रिया सुरु भएपछि स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्।

एमसीए–नेपाल र ठेकेदार कम्पनीबीच सम्झौता गर्न लागिएको सार्वजनिक भएपछि स्थानीयहरूले संघर्ष समिति गठन गरी विरोध प्रदर्शन थालेका हुन्।

स्थानीयहरूका अनुसार देउखुरी क्षेत्रमा शहरीकरण बढ्दै गएसँगै दुई लेनको सडक साँघुरो भई दुर्घटनाको जोखिम बढेको छ। पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवेको मापदण्ड अनुसार सुधार गर्ने सरकारी नीति अनुसार झापादेखि कपिलवस्तुको गोरुसिङ्गेसम्म करिब ६ सय किलोमिटर सडक चार लेनमा निर्माण हुँदैछ भने यसलाई कञ्चनपुरसम्म विस्तार गर्ने योजना पनि घोषणा भइसकेको छ।

तर, प्रदेश राजधानी देउखुरीमा सडक साँघुरो भएकाले दुर्घटनाको सम्भावना बढी छ र सवारी व्यवस्थापनका लागि भालुबाङ–लमही खण्डमा ‘टाइम कार्ड’ प्रणाली लागू गर्नुपर्ने अवस्था देखिएको छ। यसैले स्थानीयले धानखोला–लमही सडक खण्ड चार लेनमा निर्माण गर्नुपर्ने माग राखेका छन्।

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिले एमसीए–नेपालले स्थानीय तह, जनप्रतिनिधि र नागरिकसँग पर्याप्त छलफल नगरी केही सरकारी निकाय र पहुँचवालाको सल्लाहमा दुई लेन सडक निर्माण अघि बढाएको भन्दै आपत्ति जनाएका छन्। समितिले यसअघि सरोकारवालालाई ध्यानाकर्षण पत्र समेत बुझाइसकेको छ।

तपाईको प्रतिक्रिया