धादिङको सातकिल्लामा तीन सवारी ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

धादिङ — पृथ्वी लोकमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्लामा सोमबार साँझ तीन सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुने व्यक्ति थाक्रे गाउँपालिका–६, नौकिल्लाका ६० वर्षीय उत्तम अर्याल भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट महादेवबेसीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल बीच ठोक्किएपछि सोही क्रममा मोटरसाइकलबाट लडेका अर्याललाई ना ६ ख ३०१३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको दाहिने टायरमुनि परेर करिब १५ मिटरसम्म घिस्रिँदा अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अर्का मोटरसाइकल चालक, गजुरी गाउँपालिका–१ का ३० वर्षीय राजन श्रेष्ठ घाइते भएका छन्। उनलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका लागि लगिएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयले केही समय राजमार्ग अवरुद्ध पारेका थिए। इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैशीको टोली खटिएर राति सवा ८ बजेतिर सडक सुचारु गरेको हो।

प्रहरीले ट्रक चालक, बेनिघाट रोराङ गाउँपालिका–५ का ३५ वर्षीय धनबहादुर परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। मृतक अर्यालको शव पोस्टमार्टमका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

तपाईको प्रतिक्रिया