धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने बेला आएको छ : राप्रपा नेता शाही

पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको समय हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने समय भएको बताएका छन्। गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले नेपाली संस्कार र परम्परामाथि निरन्तर धावा बोलिँदै गएको आरोप लगाए।

शाहीले भने, “हाम्रो धर्म, संस्कार र परम्परालाई संरक्षण गर्न अब महापुरुषको आवश्यकता छ। माता सीताको जन्मभूमि, ३३ कोटी देवी-देवताको वासस्थान जोगाउन पनि संकल्प लिनुपर्ने बेला आएको छ।”

उनले सामाजिक विकृति र अपराध बढ्नुको कारण धार्मिक मूल्य र मान्यताको अपमान भएको उल्लेख गरे। “आज छोरीचेलीहरू बलात्कृत भइरहेका छन्, धर्म संस्कार नकार्ने सोचले समाजमा विकृति ल्याएको छ,” उनले भने।

साथै उनले नेपाली भूमिलाई “संसारभर उज्यालो ज्योति छर्ने भूमि” भन्दै, यहाँ धर्म-संस्कारको पक्षमा बोल्नेलाई बदनाम गर्ने प्रवृत्ति फैलिएको दाबी गरे। उनले विदेशी धर्मप्रति आकर्षण बढाउन विभिन्न प्रचार गरिएको आरोप लगाउँदै, त्यसप्रति नेपाली मिडिया र प्रशासन मौन रहेको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया