दोहोरो अंकले ओरालो लाग्यो नेप्से, साढे ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ। आइतबार नेप्से १०.२५ अंकले ओरालो लाग्दै २६९८.४४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य रूपमा बढेको देखिएको छ। बिहीबार ११ अर्ब ५८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार कारोबार रकम ११ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ।

यस दिन ३३० कम्पनीका दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ८५ वटाको सेयर मूल्य बढेको छ भने १६८ वटाको घटेको छ। सात कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आइतबार सुपर माइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ९३१ रूपैयाँ ७० पैसामा पुगेको छ। त्यस्तै, रिडी पावरको सेयर मूल्य पनि ९.९८ प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता २८९ रूपैयाँ ९० पैसामा कारोबार भएको छ।

यता, कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ। उक्त कम्पनीको मूल्य ८.९१ प्रतिशतले घट्दै प्रतिकित्ता ९८२ रूपैयाँमा झरेको हो। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.२९ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ७६९ रूपैयाँ कायम भएको छ।

कारोबार रकमका आधारमा आइतबार सुपर मादी हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ४८६ रूपैयाँमा ५६ करोड ३ लाख रूपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा १.६४ प्रतिशतले बढी हो।

सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा आँखुखोला हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३६३ रूपैयाँमा ५१ करोड ४९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ हेर्दा, कारोबारमा आएका १३ समूहहरूमध्ये लगानी र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेका छन्। यसमध्ये होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया