दोहोरो अंकले उकालो लाग्यो सेयर बजार, ५ अर्ब २७ करोडको कारोबार

काठमाडौं, — साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेर बन्द भएको हो।

नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीति लिएपछि बजार सकारात्मक दिशातर्फ फर्किएको विश्लेषण गरिएको छ। राष्ट्र बैंकले बुधबार व्यक्तिगत सेयर धितो कर्जामा सीमा हटाउने र सेयर खरिदपछिको लक-इन अवधि घटाउने निर्णय गरेपछि बिहीबारको बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको हो।

बिहीबार कारोबार सुरु भएको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएपछि पोजिटिभ सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि रोकिएको थियो। सर्किट ब्रेकपछि पुनः खुलेको बजार दोहोरो अंकले उकालो लाग्दै दिनभर सकारात्मक रह्यो।

बिहीबार ३१३ स्क्रिप्ट्सको १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर कारोबार भएका छन्। कुल कारोबार रकम ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यद्यपि, कारोबार रकम अघिल्लो दिनको ५ अर्ब ७६ करोडको तुलनामा केही घटेको हो।

बिहीबारको कारोबारमा २०० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ४१ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य स्थिर रहेको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक निर्देशनमार्फत व्यक्तिगत सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा हटाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेपछि बिक्री गर्न पाउने अवधि एक वर्षबाट घटाएर ६ महिना गरिएको छ। यसका साथै सेयर खरिदमा रहेको २० प्रतिशतको सीमा पनि हटाइएको छ।

बुधबार परिसूचक ४५.३६ अंकले घटेको बजार राष्ट्र बैंकको नीति परिवर्तनपछि बिहीबार सुधारोन्मुख देखिएको हो। आगामी दिनमा नीति कार्यान्वयनको प्रभाव स्थायित्वमा कति असर गर्छ भन्नेमा लगानीकर्ताको चासो केन्द्रित हुने देखिन्छ।

तपाईको प्रतिक्रिया