देश दुर्घटनाको संघारमा छ: वामदेव गौतम

काठमाडौँ, बैशाख ३१ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुक गम्भीर राजनीतिक र सामाजिक दुर्घटनाको संघारमा पुगेको चेतावनी दिएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै गौतमले वर्तमान व्यवस्थाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए।

उनका अनुसार संविधान निर्माणको करिब एक दशकपछि पनि समाजवाद उन्मुख राज्य निर्माण गर्ने उद्देश्यप्रति राजनीतिक दलहरू प्रतिबद्ध हुन सकेका छैनन्। “संविधानले समाजवाद उन्मुख राज्यको कल्पना गरेको छ, तर समाजवादको नाम मात्रै बोकेको व्यवस्था बनिरहेको छ,” गौतमले भने।

गौतमले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू नै अहिलेको संविधान र व्यवस्था ल्याउने मुख्य शक्ति भएको स्मरण गराउँदै, दुबै शक्ति मिलेर तत्काल समाजवाद घोषणा गर्नुपर्ने आवश्यकता औँल्याए। उनले चेतावनी दिँदै भने, “अब पनि ढिलो गरियो भने जनगुनासो विस्फोटमा परिणत हुनसक्छ, र त्यो बेला यो व्यवस्था समाप्त हुन्छ।”

उनले गाउँघर, सडक र चिया पसलसम्म जनताको निराशा र असन्तुष्टि व्यक्त भइरहेको बताउँदै भने, “जनतामा सरकार र व्यवस्था प्रतिको असन्तोष तीव्र रूपमा बढिरहेको छ। त्यही असन्तोषले अन्ततः व्यवस्था नै बदल्ने शक्ति बन्छ।”

गौतमले दलहरू समयमै सचेत नभए मुलुक अर्को व्यवस्थातर्फ धकेलिन सक्ने उल्लेख गरे। “देश ठूलो दुर्घटनाको छेउमा छ। जुन परिवर्तनको सिद्धान्त हो, त्यो रोक्न सकिन्न,” उनले भने।

उनले आफूले चार वर्ष लगाएर समाजवादको रूपरेखा तयार पारेको तर नेताहरूले त्यसलाई अध्ययन नगरेको गुनासो पनि गरे।

गौतमले राजनीतिक दलहरूलाई संविधानको भावना र मर्म आत्मसात गर्दै जनताको पक्षमा काम गर्न आग्रह गरे। “संविधानमा समाजवाद लेखिएको छ भने त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारी हामी सबैको हो,” उनले जोड दिए।

तपाईको प्रतिक्रिया