देशमै केही गर्ने सोचले युवाहरू जागरूक बन्दैछन् : अध्यक्ष दाहाल


काठमाडौं —नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय युवाहरू देशमै केही गर्ने भावना र सोचसहित जागरूक बन्दै गएको बताएका छन्।

शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण सिटी–एभोकाडो सिटी अभियानको समापन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशका विभिन्न भागमा युवाहरू स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानमा सक्रिय देखिन थालेको उल्लेख गरे।

उहाँले विदेशिने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको धारणा राख्दै भने, “देशभित्रै सम्भावना छ, सम्भव पनि छ। त्यसैले स्वदेशमै केही गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्नु आजको आवश्यकता हो।”

अध्यक्ष दाहालले गौरवशाली इतिहास, विविध संस्कृति, जातीय सम्पदा र मौलिक परम्परालाई आत्मसात गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिने उल्लेख गरे। “हामीसँगको इतिहास, प्रकृति र संस्कृति नै हाम्रो विकासको मौलिक मोडेल बन्न सक्छ,” उनले स्पष्ट पारे।

पर्यटन क्षेत्रको विकासका लागि स्थानीय सरकारहरू जागरूक भएर योजना बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “आ–आफ्नो पालिकाको वस्तुस्थिति बुझेर प्राथमिकता निर्धारणसहित योजना बनाउन आवश्यक छ।”

उनले सकारात्मक सोच र रचनात्मक क्रियाकलापमार्फत मात्रै राष्ट्रको समुन्नति सम्भव हुने धारणा पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया