देशभर वर्षा र हिमपातको सम्भावना

भारतबाट भित्रिएको पश्चिमी वायुको न्यूनचापीय प्रणाली आजदेखि सक्रिय बनेको मौसमविद्ले बताएका छन्। उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेकाले र यसकै कारण चिसो रहिरहने हुनाले चिसोको असरका साथै अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन अनुरोध छ।

महाशाखाका अनुसार हल्कादेखि मध्यमसम्म हिमपात तथा पश्चिमदेखि पूर्वसम्म देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

काठमाडौंमा उपत्यकामा भने आजै पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ। आज बिहान साढे ६ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस छ।

गत दिनका तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम बढेको हो। राति आकाशमा बादल लागेका दिन न्यूनतम तापक्रम बढ्ने र सफा भएका दिन घट्ने मौसमविद् बताउँछन्।

आकाशमा बादल भएकाले आज तराई क्षेत्रमा हुस्सु/कुहिरो लागेको छैन। जसले गर्दा तत्कालका लागि भने तराईवासीले केही राहत महसुस गरेका छन्।

महाशाखाका अनुसार यो प्रणाली ३/४ दिनसम्म रहने देखिएको छ।

नेपाल खबरले यो समाचार लेखेको छ ।

तपाईको प्रतिक्रिया