देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब नाघ्यो, १० महिनामा आयात निर्यात दुबैमा वृद्धि


काठमाडौं — चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाख मसान्तसम्म) नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३७ प्रतिशतले वृद्धि हो।

गत वर्ष यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो। चालु आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भए पनि व्यापार घाटा अझै उच्च रहेको देखिन्छ।

भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो घाटा ११ खर्ब ७ करोड १८ लाख रुपैयाँ थियो।

उक्त अवधिसम्ममा देशले १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.११ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यही अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

निर्याततर्फ हेर्दा, यो वर्ष वैशाख मसान्तसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ७२.७१ प्रतिशतको उल्लेखनीय वृद्धि हो। अघिल्लो वर्षको यो अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो।

हाल आयातको हिस्सा ८७.१२ प्रतिशत छ भने निर्यातको हिस्सा १२.८८ प्रतिशतमा सीमित छ। यस अनुपातले नेपालको व्यापार संरचनामा अझै पनि गम्भीर असन्तुलन रहेको देखिन्छ।

तपाईको प्रतिक्रिया