दुुई हजारभन्दा बढी शक्तिपीठमा हुुँदैन बलि

काठमाडौँ, असोज २२ गते । आसन्न दशैँमा राजगुुुठीका शक्तिपीठमा बलि नहुुने भएको छ । देवस्थलमा भीडभाड हुँदा कोरोना सङ्क्रमण बढ्ने अवस्था तथा अदालतको आदेशसमेत विचार गरेर बलि स्थगित गरिएको हो ।
राजगुठी अन्तर्गत देशमा दुुई हजार ३५० शक्तिपीठमा दोपाया तथा चौपायाको बलि स्थगित गरिएको गुुठी संस्थानले जनाएको छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार सर्वोच्च अदालतले दोपाया, चौपाया बलि क्रमिक रूपमा घटाउँदै लैजान २०७३ साउन २० गते बिहीबार गरेको आदेश अनुसार यो कार्यान्वयनको अवस्थामा रहेको हो । तत्कालीन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारका नाममा यो आदेश जारी गरेको थियो ।
बलि दिनैपर्ने आगमघर, गुप्तीपीठबाहेक गुठियार, पुजारी रकमी भीडभाड भएर गरिनुपर्ने र बलिका दोपाया चौपाया भागबन्डा गरेर बाँडचुँड गर्नुपर्ने खालका बलि स्थगित गरिएको छ ।
धनुषाको राजदेवीमा स्थानीय प्रशासनले हालै पशुबलि रोक्ने निर्णय गरिसकेको छ । योपल्ट हनुमान्ढोका दरबारस्थित दशैँघर र मूलचोकमा दिइने ५४ राँगा र ५४ बोकाको बलि पनि स्थगित गरिएको साविक कौसी तोसाखाना र हाल निवृत्तिभरण व्यवस्थापन कार्यालयका शाखा अधिकृत राजभाइ श्रेष्ठले जानकारी दिनुुभयो ।
गुठी संस्थानले मुुख्य गरेर पाटन, भक्तपुर र काठमाडौँको तुलजा भवानी, भैरवनाथ भक्तपुर, देवी भगवती भिग्री प्यूठान, देवीस्थान सामरी नुवाकोट, देहीमाडौँ बैतडी, देवीमाई बारा, पाल्ही भगवती नवलपरासी, मष्टा भगवती जुम्ला लगायत काठमाडौँ उपत्यकाका भद्रकाली, दक्षिणकाली, गुह्येश्वरी लगायतका शक्तिपीठमा राँगा, बोका, हाँस र कुखुरा बलि दिइँदै आएको थियो ।
बडादशैँमा कुल सवा करोड रुपियाँभन्दा बढीको बलि हुने गरेको प्रवक्ता थपलियाले जानकारी दिनुभयो । “नभई नहुने गुप्ती पूजा बाहेकका बलि हुँदैनन्”, थपलिया भन्नुहुन्छ । बलि निषेध अभियानका अभियन्ता डा. गोविन्द टण्डनले अदालतको आदेशको सर्वत्र पालना हुनुपर्ने बताउँदै अहिले बढिरहेको कोरोना सङ्क्रमणप्रति सचेत हुनुपर्छ भन्नुभएको छ । गोरखापत्र

तपाईको प्रतिक्रिया