दुबईमा हुने पारा गेम्समा रेनु तामाङ ४७ केजी समूहमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङ प्रतिस्पर्धा गर्ने भएकी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मिसन–२०२६ विशेष प्रशिक्षणमा रहेका रेनुले के–४४ वर्गअन्तर्गत ४७ केजीमुनिको तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

उनका प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय लेभल–२ कोच कविराज नेगी लामा सहभागी हुनेछन्। नेपाली टोली सोमबार (मंसिर २२) राति दुबई प्रस्थान गरेको हो। रेनु तामाङ मंसिर २६ गते आफ्नो खेलमा उत्रिने छिन्।

नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा राखेप कार्यकारी सदस्य भानबहादुर चन्द लगायत संघका पदाधिकारीले बिदाइ गरेका थिए।

रेनुले यसअघि मलेसियामा भएको १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाएका थिइन्। हालै सम्पन्न १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्णपदक जितेकी थिइन्।

कोच नेगी लामाको प्रशिक्षणमा नेपालले हालसम्म तीन स्वर्ण, दुई रजत र सात कांस्यपदक सहित १२ अन्तर्राष्ट्रिय पदक हात पारेको छ। सोही प्रशिक्षण दलअन्तर्गत, सन् २०२१ मा बहराइनमा आयोजित एसियन युथ पारा गेम्समा पारालिम्पियन पलेशा गोर्वधनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेका थिए।

तपाईको प्रतिक्रिया