दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने :सञ्चारमन्त्री खरेल

काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने महत्त्वपूर्ण घोषणा गर्नुभएको छ।

मन्त्री खरेलका अनुसार, दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ। यसका साथै, पाँच महिनाभित्र राजधानीसहित देशका सात प्रदेशका १० प्रमुख शहरका सार्वजनिक स्थलहरूमा पनि यस्तो सेवा सुनिश्चित गरिनेछ।

मन्त्री खरेलले यो कदम सूचना प्रविधिको पहुँच र डिजिटल साक्षरता बढाउने दिशामा महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सञ्चार र सूचना प्रविधिको सेवा जनसम्पर्कदेखि विद्यालय, स्वास्थ्य केन्द्र र सार्वजनिक स्थानसम्म पुग्नेछ भन्ने हाम्रो अपेक्षा हो।”

यस पहलले देशभरिका नागरिकलाई सूचना र सञ्चारको पहुँच बढाउने अपेक्षा गरिएको छ। मन्त्री खरेलले यस योजना कार्यान्वयनका लागि आवश्यक तयारी र स्रोत व्यवस्थापनलाई प्राथमिकता दिने बताउनुभयो। साथै, न्यायसंगत र पारदर्शी प्रक्रिया अपनाइने समेत उहाँले बताउनु भयो।

तपाईको प्रतिक्रिया