दिल्लीमा पाकिस्तानी गुप्तचर सञ्जालसँग जोडिएको आरोपमा एक नेपाली पक्राउ

काठमाडौं ।भारतको राजधानी दिल्लीमा पाकिस्तानी गुप्तचर संस्था ‘आईएसआई’ सँग संलग्न रहेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन्। दिल्ली प्रहरीले सञ्चालन गरेको गोप्य अपरेशन अन्तर्गत दुई जनालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ।

दिल्ली प्रहरीका अनुसार, पक्राउ परेका मध्ये एक व्यक्ति अन्सरूल मियाँ अन्सारी नेपाली नागरिक हुन्। उनीसहित अर्का एक व्यक्ति समेत पक्राउ परेका छन् र दुवैजना हाल तिहाड जेलमा छन्।

पक्राउ परेका व्यक्तिहरू ‘स्लिपर सेल नेटवर्क’ अन्तर्गत क्रियाशील रहेको दाबी गरिएको छ। यस्तो नेटवर्कमा संलग्न व्यक्तिहरू सामान्य नागरिकझैँ देखिए पनि आवश्यक आदेश पाएको अवस्थामा मात्र गुप्त गतिविधिमा सक्रिय हुने गर्छन्।

जनवरीदेखि मार्चसम्मको अवधिमा दिल्ली प्रहरीले गरेको अपरेशनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट गोप्य कागजातहरू बरामद गरेको जनाएको छ।

अन्सारीलाई पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) ले नेपालमार्ग हुँदै दिल्ली पठाएको दाबी गरिएको छ। उनी पाकिस्तान जान लागेका बेला दिल्लीबाट पक्राउ परेका थिए।

प्रहरीसँगको बयानमा अन्सारीले कतारमा ट्याक्सी चलाउँदा आईएसआईसँग सम्पर्कमा आएको र तालिमका लागि पाकिस्तान लगिएको जानकारी दिएको उल्लेख छ। आईएसआईले उनलाई विभिन्न गोप्य दस्तावेज संकलन गरी सीडीमार्फत पाकिस्तान पठाउने जिम्मेवारी दिएको दाबी गरिएको छ।

अन्सारीसँगको सोधपुछपछि अर्का एक व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ। दिल्ली प्रहरीले उनीहरू विरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया