दशौं महाधिवेशन प्रतिनिधिको सूची अद्यावधिक गरी साउनभित्र केन्द्रमा पठाउन एमालेको निर्देशन

काठमाडौं । नेकपा (एमाले) ले आसन्न विधान महाधिवेशनलाई लक्षित गर्दै दशौं महाधिवेशनका प्रतिनिधिको सूची अद्यावधिक गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

एमालेले भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनमा केवल दशौं महाधिवेशनका प्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय गरेपछि उनीहरूको नामावली अद्यावधिक गर्न साउन मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको हो।

एमाले केन्द्रीय सचिवालयद्वारा जारी अन्तरपार्टी निर्देशनमा भनिएको छ, “केन्द्रीय सचिवालयले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्ने प्रयोजनका लागि सम्बन्धित प्रदेशमा पठाएको छ। सो सूचीमा संशोधन गर्नुपर्ने भए हटाइएका नामको विवरणसहित कैफियत उल्लेख गरी यही साउन मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ।”

साथै, एमालेले विधान महाधिवेशनका लागि जनताको बहुदलीय जनवादमा आधारित आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने उद्देश्यसहित विधान संशोधन प्रस्ताव तयार गरिएको जानकारी दिएको छ।

पार्टीको केन्द्रीय कमिटीबाट पारित उक्त प्रस्तावमा मातहतका सबै कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रूपमा भदौ १० भित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने पनि उल्लेख गरिएको छ।

“प्राप्त सुझावहरू केन्द्रीय कमिटीको बैठकमा छलफल गरिनेछ र आवश्यक निर्णय लिइनेछ,” एमालेले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया