दशैंपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ५८ अंकले घट्यो

काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो सेयर कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय गिरावट आएको छ। कारोबारको अन्त्यसम्म नेप्से ५८.५५ अंकले घट्दै २,६०४.९६ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अंकले घटेर ४५४.६२ विन्दुमा झरेको छ।

दशैंअघि असोज १२ गते आइतबारको कारोबार दिन नेप्से सामान्य वृद्धि सहित बन्द भएको थियो। तर लामो बिदापछि पुनः खुलेको बजारमा अपेक्षाविपरीत ठूलो गिरावट देखिएको हो।

मंगलबारको कारोबारमा कुल ३२६ स्क्रिप्टको १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ रुपैयाँ पुगेको छ।

उल्लेखनीय रूपमा, सिन्चुरी डिबेन्चर २०८८ को मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने एनआईसी एशिया ऋणपत्र २०८८ ९.११ प्रतिशतले बढेको छ। कारोबार रकमको आधारमा युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो, जसको २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।

त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड को १९ करोड, हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्ट को १२–१२ करोड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड को ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा मूल्य घट्ने कम्पनीहरूमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी अगाडि रह्यो, जसको सेयर मूल्य ९.९९ प्रतिशतले घट्यो। त्यसपछि नेपाल रिइन्स्योरेन्स को सेयर मूल्य ८.५७ प्रतिशतले घटेको देखिन्छ।

मंगलबारको कारोबारमा जम्मा १६ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ भने २३५ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो।

साथै, कारोबारमा रहेका सबै उपसमूहका परिसूचकहरू नकारात्मक देखिएका छन्। तीमध्ये अदर्श समूहको उपसूचक सर्वाधिक ४ प्रतिशतले घटेको हो।

तपाईको प्रतिक्रिया