दमकल ढिलाइको गुनासोपछि मखन आगलागी छानबिन गर्न उपप्रमुख डंगोलको आदेश

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले मखन टोलमा वैशाख ३१ गते राति भएको भीषण आगलागीको घटनाबारे प्रभावकारी छानबिन गर्न निर्देशन दिएकी छिन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्।

उपप्रमुख डंगोलले आगलागी स्थलको अनुगमनपछि घटनाको पूर्ण अध्ययन, दोष र कमजोरीको पहिचान तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न महानगरलाई आग्रह गरिन्।

चार घर जले, एक महिलाको मृत्यु

आगलागीबाट दयाराम श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो। साथै, रुकेश श्रेष्ठको पाँचतले घर, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति पुगेको थियो।
दुर्भाग्यपूर्ण रूपमा एक महिलाको ज्यान गएको थियो।

दमकल ढिला पुगेको गुनासोमा ध्यान

उपप्रमुख डंगोलले आगलागी क्षेत्र नजिकै दमकल रहेको भए पनि समयमै नियन्त्रण प्रयास नगरेको भन्दै आएका गुनासोहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छिन्।
“मैले आफैं घटना स्थलको तत्काल अनुगमन गरेकी थिएँ,” डंगोलले भनिन्, “नजिकै दमकल हुँदाहुँदै आगो नियन्त्रणमा समय लाग्नु चिन्ताको विषय हो। त्यसैले यथासिघ्र छानबिन समितिले विस्तृत रिपोर्ट पेस गर्नुपर्छ।”

तपाईको प्रतिक्रिया