सूर्यबहादुर थापाले रास्वपाद्वारा थुनामा रहेका एक व्यक्तिको नाममा सुरु गरिएको हस्ताक्षर अभियान प्रति आपत्ति जनाए ।

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले रास्वपाद्वारा थुनामा रहेका एक व्यक्तिको नाममा सुरु गरिएको हस्ताक्षर अभियानप्रति आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यो अभियानलाई “राजनीतिक रोटी सेक्ने उपक्रम” भनेर टिप्पणी गरे। यद्यपि उनले प्रत्यक्ष रुपमा कुनै नाम उल्लेख गरेनन्, तर उनको संकेत हाल पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सांसद रवि लामिछानेतर्फ देखिएको थियो।

“सभामुख महोदय, एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ। असार ७ गते भैरहवा कारागारमा रहेका एक व्यक्तिको नाममा १५ पृष्ठ लामो अपिल सार्वजनिक गरिएको छ। म त्यसलाई याचनापत्र भन्छु,” थापाले भने, “अहिले अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ। त्यही मुद्दालाई प्रभावित पार्ने किसिमको हस्ताक्षर संकलन राजनीतिक उद्देश्यप्रेरित देखिन्छ।”

सांसद थापाले न्यायिक स्वतन्त्रताको प्रश्न उठाउँदै अदालतको निर्णयलाई हस्ताक्षरले असर गर्न नसक्ने जिकिर गरे। “सर्वोच्च अदालतको आदेश हस्ताक्षर गरेर बदल्न सकिँदैन। अदालतले बहस र प्रमाणका आधारमा निर्णय गर्छ। यो कुरा बुझ्न आवश्यक छ,” उनले भने।

उनले न्यायिक निर्णयमाथि दबाब सिर्जना गर्ने कार्य संविधानको शक्ति पृथकीकरण सिद्धान्तविपरीत भएको बताए। साथै, उनले यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

तपाईको प्रतिक्रिया