तीन महिनामा ३०८ महिला हिंसाका घटना, अधिकांशमा पारिवारिक संलग्नता

काठमाडौँ, — महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ। संस्थाले गत चैतदेखि जेठसम्म (अप्रिलदेखि जुन २०२५) तीन महिनाको अवधिमा देशभर ३०८ वटा महिला हिंसाका घटना दर्ता भएको जनाएको छ।

ओरेककी कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार ती घटनामध्ये ४१ वटा सञ्चारमाध्यमबाट संकलित र बाँकी २६७ घटना प्राथमिक स्रोतबाट प्राप्त भएका हुन्। कुल ३०८ घटनामध्ये २१ वटा हत्या र तीनवटा हत्या प्रयासका रहेका छन्।

प्रतिवेदनअनुसार हत्या भएका महिलामध्ये १८ देखि २५ वर्ष उमेर समूहका २९ प्रतिशत, २६ देखि ३५ वर्षका २४ प्रतिशत र १८ वर्षभन्दा कम उमेरका १९ प्रतिशत बालिका रहेका छन्। हत्याका घटनामा बढी संलग्नता श्रीमान र पारिवारिक सदस्यको रहेको ओरेकले जनाएको छ।

संस्थाको तथ्याङ्कअनुसार ४३ प्रतिशत महिलाको हत्या श्रीमानबाट, २४ प्रतिशतको परिवारका सदस्यबाट, १४ प्रतिशतको पूर्वपतिबाट, १० प्रतिशतको छिमेकीबाट र पाँच प्रतिशतको आत्मीय साथीबाट भएको छ।

हत्या पीडितमध्ये ८२ प्रतिशत विवाहित, १० प्रतिशत अविवाहित महिला र बाँकी नौ प्रतिशतको वैवाहिक स्थिति खुल्न बाँकी रहेको ओरेकले जनाएको छ। नेपाल प्रहरीको २०८१/०८२ को तथ्याङ्कसमेत उद्धृत गर्दै संस्थाले बलात्कारपछि चार जनाको हत्या, दाइजोका कारण दुई जनाको र घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको तथ्यसमेत उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया