तीनकुने घटनामा प्रहरीको अनुसन्धान सकियो, १०८ जनाविरुद्ध मुद्दा सिफारिस


काठमाडौं ।राजावादी प्रदर्शन हिंसात्मक बनेपछि उत्पन्न तीनकुने घटनासम्बन्धी अनुसन्धान सकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। चैत १५ गते भएको उक्त घटनामा संलग्न भएकामाथि अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको हो।

सरकारी वकिल कार्यालयका प्रवक्ता गोकुलबहादुर निरौलाका अनुसार प्रतिवेदन बिहीबार बुझाइएको हो। प्रहरीले घटनामा संलग्न ठहर गर्दै १०८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ।

प्रहरीका अनुसार हाल ५३ जना व्यक्तिहरू प्रहरी हिरासतमा छन्। तीमध्ये २६ जनामाथि राजद्रोह र संगठित अपराध, भने २७ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिएको हो।

यस अतिरिक्त, ३७ जनालाई हाजिर जमानीमा छाडिएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईँसहित तीनैजनाविरुद्ध मुद्दा दायर गर्न सिफारिस गरिएको छ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा अभियोजन दर्ता गर्नेछ। मुद्दा दर्ता भएपछिको प्रक्रियामा अदालतले थुनछेक बहसमार्फत अभियुक्तहरूलाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा निर्णय गर्नेछ।

तपाईको प्रतिक्रिया