तीनकुने घटनामा धवलशमशेरको बयान सकियो, थुनछेक बहस जारी

काठमाडौं — गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाको बयान सकिएको छ। सोमबार (असार २) काठमाडौं जिल्ला अदालतमा उनको थुनछेक सम्बन्धी बहस चलिरहेको छ।

उक्त प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो। जडीबुटीस्थित एक निजी घर र जडीबुटी कम्पनीमा आगजनी तथा तोडफोड, भाटभटेनी सुपरमार्केटमा लुटपाट, नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा आगजनी, सडकका सिसीटीभी फुटाउनेजस्ता घटना घटेका थिए। त्यस क्रममा प्रहरी र निजी सवारीसाधनमा समेत क्षति पुगेको थियो।

यिनै घटनामा आपराधिक उपद्रव तथा राज्यविरुद्धको कसुरमा राणालाई अभियुक्त बनाइएको हो। उनी घटनाको दिनै पक्राउ परेका थिए। तर, स्वास्थ्य कारण देखाउँदै जिल्ला अदालतको आदेशमा केही दिनपछि रिहा भएका थिए। त्यसपश्चात अदालतमा उपस्थित नभएको भन्दै ५० हजार रुपैयाँ जरिवाना वकिलमार्फत बुझाएका थिए।

अब उनी बाँकी प्रतिवादीहरूको सुनुवाइपछि अदालतमा उपस्थित भएका हुन्। राणाका सहयोगीका अनुसार हालसम्म उनका तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यसहित तीनजना वकिलले बहस गरिसकेका छन्। सरकारी पक्षको बहस जारी छ भने राणाका पक्षबाट थप दुई वकिल अन्तिम चरणमा बहस गर्ने तयारीमा छन्।

अदालतमा भइरहेको यो थुनछेक बहसले राणा र अन्य प्रतिवादीहरूको हिरासतमा राख्ने वा रिहा गर्ने विषयमा अन्तिम निर्णय तय गर्नेछ।

तपाईको प्रतिक्रिया