तिहार नजिकिँदै गर्दा सुनको मूल्य उच्च, कृत्रिम अभाव सुनको

काठमाडौँ । तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ भने बजारमा कृत्रिम अभाव देखिएको छ। तिहारमा सुनको माग बढ्ने भएकाले केही व्यवसायीले अभाव देखाएर मनपरी मूल्य लिइरहेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार, तिहार नजिकिँदै गर्दा सुनको माग अत्यधिक वृद्धि भएको छ। माग उच्च भए पनि बैंकमार्फत आयात गरिएको सुन सकिएकाले बजारमा अभाव देखिएको हो।

उहाँले चोरीतस्करीबाट भित्रिएको सुन तोलामा ५ हजारदेखि ८ हजार रुपैयाँसम्म बढी मूल्यमा बिक्री भइरहेको जानकारी दिनुभयो।

महासंघका अनुसार, बुधबार तोलाको मूल्य २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ। मूल्य वृद्धिसँगै उपभोक्ताहरू महँगोमा सुन किन्न बाध्य भएका छन्।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेको देखिन्छ। बिहीबार प्रतिऔँस सुनको मूल्य ४,२०० अमेरिकी डलर पुगेको छ।

उद्योगका जानकारहरूका अनुसार, तिहारको समयमा ४ देखि ५ सय किलोसम्म सुनको कारोबार हुने गर्दछ। धनतेरस लगायत चाँदीका सामानहरूसँगै सुनको पनि विक्री उल्लेखनीय रूपमा बढ्ने गरेको छ।

बैंकहरू दैनिक औसत २० किलो सुन आयात गर्दै आएका छन्। नेपाल राष्ट्र बैंकले हालै सुन आयातको कोटा बढाएर दैनिक २५ किलो पुर्‍याएको छ। तर, नयाँ कोटामा आएको सुन तिहारपछि मात्र बजारमा आउने भएकाले तत्कालका लागि उपलब्ध छैन।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार, सुनको मूल्य निरन्तर बढ्दै गएकाले धेरै लगानीकर्ता सुनमा आकर्षित भएका छन्। अन्तर्राष्ट्रिय बजारमा सुरक्षित लगानीको विकल्पको रूपमा सुनको माग बढ्दो क्रममा रहेकाले नेपालमा पनि लगानीकर्ता यो क्षेत्रमा आकर्षित भएको उहाँले बताउनुभयो।

उहाँले बजारमा ढिक्का सुनको माग बढी रहेको र कानुनी रूपमा यस्ता सुनको विक्री अनुमति नदिइए पनि चोरी तस्करीको माध्यमबाट खुलेआम कारोबार भइरहेको गुनासो गर्नुभयो।

तपाईको प्रतिक्रिया