तरकारी बेच्न नपाएपछि नुवाकोट–तारकेश्वरवासीको विरोध, फोहोरका गाडी रोके

काठमाडौँ — काठमाडौं महानगरपालिकाले माछापोखरी क्षेत्र आसपासको सडक किनारामा तरकारी बेच्न नदिएपछि त्यसको विरोधस्वरूप तारकेश्वर र नुवाकोट क्षेत्रका स्थानीयले फोहोर बोकेर जाने सवारी साधन अवरुद्ध गरेका छन्।

उनीहरूले काठमाडौं उपत्यकाबाट फोहोर बोक्दै बन्चरेडाँडातर्फ गइरहेका गाडीहरू तीनपिप्ले र कागतीगाउँ क्षेत्रमा रोकिदिएका हुन्। स्थानीयले काठमाडौं महानगरले बिहानैदेखि माछापोखरी क्षेत्रमा तरकारी बेच्न निषेध गरेपछि विरोधस्वरूप यस्तो कदम उठाएका हुन्।

स्थानीय भवनाथ गजुरेलले भने, ‘नगर प्रहरीले माछापोखरीमा तरकारी बेच्न गएका व्यापारीहरूलाई हटाउने, धरपकड गर्ने काम गर्‍यो। त्यसपछि आक्रोशित स्थानीयहरूले फोहोरका गाडी रोक्न बाध्य भएका छन्।’

काठमाडौं उपत्यकाबाट दैनिक झन्डै १५ सय टन फोहोर नुवाकोटको बन्चरेडाँडा ल्याण्डफिल साइटमा लगिन्छ। काठमाडौं महानगर, ललितपुर महानगर, महालक्ष्मी नगरपालिका, भक्तपुरका केही क्षेत्र र बनेपा–धुनिवेशी क्षेत्रको फोहोर पनि त्यहीं व्यवस्थापन गरिन्छ।

ककनी गाउँपालिकाकी उपाध्यक्ष मिठ्ठुमाया तामाङका अनुसार स्थानीयहरू लामो समयदेखि सडक निर्माण, सरसफाइ र उचित क्षतिपूर्तिको माग गर्दै आएका छन्। अहिले तरकारी बिक्री पनि रोकिएपछि उनीहरू थप आक्रोशित भएका छन्।

महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले शुक्रबार बिहानैदेखि कागती गाउँका स्थानीयले फोहोर लैजान रोक लगाएको जानकारी दिइन्। समस्या समाधानका लागि बालाजुस्थित प्रहरी वृत्तमा छलफल भइरहेको उनले बताइन्।

छलफलमा ककनी गाउँपालिका, काठमाडौं महानगरपालिका, नगर प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी छन्।

२०७९ जेठदेखि बन्चरेडाँडामा फोहोर लैजान थालिएको हो। बन्चरेडाँडाको वरपरको करिब तीन किलोमिटर क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गर्नुपर्ने र मुआब्जा दिनुपर्ने मागसहित स्थानीयहरूले समय–समयमा अवरोध गर्दै आएका छन्।

यसपटक कागती गाउँका बासिन्दाले फोहोरका गाडीलाई नै अघि बढ्न दिएका छैनन्।

तपाईको प्रतिक्रिया