डोल्पामा ठूलो परिमाणमा जडीबुटीसहित चार जना पक्राउ

डोल्पा — त्रिपुरासुन्दरी नगरपालिकामा अनुमति बिना ठूलो परिमाणमा जडीबुटी संकलन गर्ने चार जना पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको छ।

सोमबार बिहान ३:३० बजे नेपाली सेनाको संयुक्त गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्दा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुईवटा ट्याक्टर बरामद गरेको छ।

यो अभियान नेपाली सेनाका उपसेनानी सुशील दाहालको नेतृत्वमा सेनाका जवान र निकुञ्ज प्रशासनका वरिष्ठ गेम स्काउटको संयुक्त टोलीले सञ्चालन गरेको थियो।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा, रुकुमपश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक, र त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया रहेका छन्। उनीहरूलाई अनुसन्धान र आवश्यक कारबाहीका लागि निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ।

सहायक संरक्षण अधिकृत विज्ञान सेनका अनुसार, निकुञ्ज क्षेत्रबाट अनुमति नलिई जडीबुटी संकलन गरिएको र जिल्ला बाहिर लैजाने तयारी भइरहेका बेला उनीहरू पक्राउ परेका हुन्। डोल्पामा हाल जठामसी (भुल्ते) संकलनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ र पदमचाल जडीबुटीको संकलनका लागि पनि विशेष कार्ययोजना र अनुमति आवश्यक रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया