डा. शेखर कोइरालाले श्रमिक आयोग गठनको आवश्यकता जोड दिए

काठमाडौं, — नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग गठनको आवश्यकता बारे जोड दिएका छन्। उनले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार (वैशाख १८) ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन्।

डा. कोइरालाले श्रमिकका अथक प्रयासले विभिन्न आन्दोलनलाई सफल बनाएको उल्लेख गर्दै, श्रमिकका समस्या समाधानका लागि श्रमिक आयोग गठन गर्ने पक्षमा कांग्रेस गम्भीर रहेको बताए।

“साथीहरू होटेलमा कार्यरत श्रमिकहरूले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ, उहाँहरूले ठूलो कुरा, माग गर्नुभएको छैन,” कोइरालाले भने, “सुप्रीम कोर्टले पनि कानुन बनाएर यसलाई अगाडि बढाऔं भनेको छ, र नेपाली कांग्रेस त्यसको लागि कानुन बनाउन अघि बढ्छ।”

उनले संसारभरका ठूला अर्थतन्त्रका बीच व्यापार युद्ध चलिरहेका अवस्थामा नेपालको अर्थतन्त्र पनि प्रभावित हुन सक्ने बताएका छन्।

सांसद कोइरालाले श्रमिकको योगदानको कदर गर्दै भने, “यदि श्रमिकले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२/०६३ का आन्दोलन सफल नहुने थिए।”

तपाईको प्रतिक्रिया