डा. बाबुराम भट्टराई चार दिने भारत भ्रमणमा जाने

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार चार दिने भारत भ्रमणमा जान लागेका छन्। भ्रमणका क्रममा उनले मुम्बई र नयाँ दिल्लीमा आयोजना हुने विभिन्न प्राज्ञिक तथा कूटनीतिक कार्यक्रमहरूमा सहभागी भई सम्बोधन गर्ने तालिका रहेको छ।

भट्टराईको सचिवालयका अनुसार उनी भारतको प्रतिष्ठित संस्था आइआइटी बम्बेमा आयोजित ‘टेकफेस्ट’ कार्यक्रममा ‘किनोट स्पिच’ दिनेछन्। यस अवसरमा उनी “दक्षिण एसियाको लोकतान्त्रिक भविष्य: युवा, प्रविधि र समावेशी लोकतन्त्र” विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

त्यसैगरी, नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेशनल सेन्टर (आइआइसी) मा ‘साउथ एसियन फोरम फर पिपुल्स इनिसियटिभ’ (SAFPI) द्वारा आयोजना गरिएको विशेष कार्यक्रममा भट्टराई प्रमुख वक्ताका रूपमा सहभागी हुने सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा उनले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका विषयमा विचार विमर्श गर्नेछन्।

सचिवालयले जनाएको छ, यस भ्रमणले दुई देशबीच आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। डा. भट्टराई पौष ९ गते स्वदेश फर्किने कार्यक्रममा सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया