ट्रम्प र पुटिनबीच दुई साताभित्र बुडापेस्टमा भेटवार्ता हुने

बुडापेस्ट । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई साताभित्र हंगेरीको राजधानी बुडापेस्टमा भेटवार्ता हुने भएको छ।

बिहीबार ट्रम्प र पुटिनबीच भएको टेलिफोन संवादपछि उक्त भेटको सहमति बनेको हो। ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न बुडापेस्टमा भेटवार्ता तय भएको पुष्टि गरेका हुन्। क्रेमलिनले पनि उक्त बैठक तय भएको आधिकारिक जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, भेटवार्ता आगामी दुई साताभित्र हुने पक्का भए पनि ठोस मिति र समय भने सार्वजनिक गरिएको छैन।

यसअघि ट्रम्प र पुटिनबीच अमेरिकाको अलास्कामा भेटवार्ता भएको थियो। त्यस भेटमा युद्ध अन्त्यको ठोस सहमति नभए पनि संवादलाई निरन्तरता दिने सहमति भएको थियो। पुटिनले त्यतिबेला आगामी छलफल मस्कोमा गर्ने प्रस्ताव राखेका थिए, तर अब त्यो भेट बुडापेस्टमा हुने भएको छ।

यसपटकको वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी नहुने रोयटर्सले जनाएको छ। अघिल्लो छलफलमा पनि पुटिनले जेलेन्स्कीको सहभागिता अस्वीकार गरेका थिए।

पुटिनमाथि केही पश्चिमी मुलुकहरूले युद्ध अपराधको आरोप लगाएका कारण उनका अन्तर्राष्ट्रिय भ्रमणहरू सीमित छन्। तर, हंगेरीसँग युक्रेनको सम्बन्ध चिसिएको बेला बुडापेस्ट वार्ताको स्थल बन्नुले विश्वको ध्यान आकर्षित गरेको छ।

गत महिनामात्रै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हंगेरीका ड्रोनहरू युक्रेनको आकाशमा प्रवेश गरेको आरोप लगाएका थिए। जवाफमा हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानले युक्रेनको स्वतन्त्रता नै प्रश्नवाचक रहेको टिप्पणी गरेका थिए।

ट्रम्प र पुटिनको सम्भावित भेटबारे प्रतिक्रिया दिँदै अर्बानले एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “यो बैठक शान्तिप्रेमी विश्व समुदायका लागि सुखद संकेत हो। हामी पूर्ण रूपमा तयार छौं।”

ट्रम्पले पुटिनसँगको संवादपछि जेलेन्स्कीलाई भेट्ने तयारी गरेका छन्। जेलेन्स्की वाशिङ्टनमा छन् र शुक्रबार ट्रम्पसँग भेट हुने तय भएको छ।

रोयटर्सका अनुसार, जेलेन्स्कीले अमेरिकासँग लामो दूरीमा मार हान्न सक्ने तोमहक मिसाइलको माग गर्न लागेका छन्, जसमा ट्रम्प सकारात्मक देखिएका छन्। तर पुटिनले उक्त हतियार युक्रेनलाई दिनु शान्ति वार्ताको वातावरणलाई असर पुर्‍याउने चेतावनी दिएका छन्।

पत्रकार सम्मेलनमा ट्रम्पले पुटिनको भनाइ उद्धृत गर्दै भने, “पुटिन तोमहकजस्तो क्रूर मिसाइल युक्रेनलाई दिइयोस् भन्ने चाहँदैनन्।”

ट्रम्पले आफ्नो जीवन वार्ता र सम्झौतामा बितेको दाबी गर्दै युक्रेन युद्ध पनि चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे। “मेरो जीवन सम्झौताहरूमा केन्द्रित छ। मलाई लाग्छ, हामी यसपटक पनि सफल हुनेछौं,” उनले भने।

जेलेन्स्कीले भने पुटिनले हतियारको प्रसंग उठ्नेबित्तिकै शान्तिको कुरा गर्ने गरेको आरोप लगाएका छन्। “जब हतियारको कुरा उठ्छ, त्यही बेला मस्को शान्तिको कुरा गर्छ,” उनले एक्समा लेखेका छन्।

तपाईको प्रतिक्रिया