ट्रम्प–पुटिन वार्तामा जेलेन्स्कीको सहभागिता गराउन अमेरिका सक्रिय

वासिङ्टन — अमेरिका, रुस र युक्रेनबीच युद्धविरामको सम्भावनालाई अघि बढाउन अलास्कामा प्रस्तावित ट्रम्प–पुटिन वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउने प्रयास तीव्र पारिएको छ।

शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ता विश्वको ध्यानको केन्द्र बनेको छ। तर युक्रेनलाई समावेश नगरी हुने सम्भावित सम्झौताप्रति युरोपेली युनियनलगायत विभिन्न मुलुकहरूले असहमति जनाएका छन्। जेलेन्स्की स्वयंले पनि युद्धरत पक्षलाई बेवास्ता गरेर हुने वार्तालाई अस्वीकार गर्ने चेतावनी दिएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार ‘फक्स न्युज’लाई दिएको अन्तर्वार्तामा भने, “हामी यस्तो संरचना बनाउने प्रयासमा छौं जसले ट्रम्प, पुटिन र जेलेन्स्कीलाई एउटै टेबलमा ल्याउन सकोस्। यसमार्फत द्वन्द्वको अन्त्यबारे गम्भीर छलफल सम्भव हुनेछ।”

तर रुसी राष्ट्रपति पुटिनले युक्रेनी समकक्षीसँग वार्ता गर्न नमान्ने अडान लिँदै आएको भान्सले खुलासा गरे। यद्यपि, किभको सहभागिताका लागि युरोपेली राष्ट्रहरूको निरन्तर दबाब रहेको उनले बताए।

जेलेन्स्कीलाई वार्ता बाहिर राख्ने सम्भावनाले युक्रेनमा गम्भीर चिन्ता थपेको छ। युक्रेनी अधिकारीहरूले यो वार्ताको आडमा अमेरिका–रुस मिलेर युक्रेनी भू–भाग क्रिमलिनलाई सुम्पन सक्ने शंका व्यक्त गरेका छन्। युरोपेली युनियनले पनि रुसद्वारा वार्ताको सर्तस्वरूप राखिएको शर्त अस्वीकार गरिसकेको छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पछिल्ला तीन दिनमा बेलायत, जर्मनी र फ्रान्ससहित १३ देशका नेतासँग वार्ता गरिसकेका छन्। जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि जेलेन्स्कीको सहभागिता आवश्यक भएको बताउँदै आशा व्यक्त गरेका छन्।

नाटोका लागि अमेरिकी राजदूत म्याथ्यु ह्वाइटेकरले पनि जेलेन्स्की सहभागी हुने सम्भावना खुला रहेको जनाउँदै भने, “यदि सबै पक्ष संलग्न नभए वार्ताको सार्थकता गुम्न सक्छ।”

ह्वाइटेकरले अन्तिम निर्णय ट्रम्पको हातमा रहेको उल्लेख गर्दै भने, “उहाँलाई जेलेन्स्कीलाई समावेश गर्नु उपयुक्त लागेमा त्यसबारे निर्णय गर्न सक्नुहुन्छ। तर हालसम्म कुनै औपचारिक निर्णय भइसकेको छैन।”

तपाईको प्रतिक्रिया