ट्रम्पद्वारा सैनिकलाई आर्थिक सहायता दिने घोषणा, ‘वारियर डिभिडेन्ड’ योजना सार्वजनिक

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकी अर्थतन्त्रलाई केन्द्रमा राखेर आफ्नो धारणा प्रस्तुत गरेका छन्।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले देशमा देखिएको मुद्रास्फीति र बढ्दो मूल्यवृद्धिका लागि अघिल्लो प्रशासन जिम्मेवार रहेको दाबी गरे। उनले पूर्वराष्ट्रपति जो बाइडेनको नीतिप्रति आलोचनात्मक टिप्पणीसमेत गरेका छन्।

ट्रम्पले आफ्नो कार्यकालमा आर्थिक सूचकहरूमा सुधार आएको र सकारात्मक प्रगति देखिएको जिकिर गर्दै नयाँ आर्थिक योजना सार्वजनिक गरे। उक्त योजनालाई उनले ‘वारियर डिभिडेन्ड’ नाम दिएका छन्।

यस योजनाअन्तर्गत करिब १० लाख अमेरिकी सैनिकलाई प्रतिव्यक्ति १ हजार ७ सय ७६ अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराइने जानकारी उनले दिए। ट्रम्पका अनुसार यो कार्यक्रम सैनिकप्रति सम्मान र योगदानको कदरस्वरूप ल्याइएको हो।

पछिल्लो समय जीवनयापन खर्च र मुद्रास्फीतिका विषयमा ट्रम्प प्रशासन आलोचनाको केन्द्रमा रहँदै आएको छ। उनको पार्टीभित्रकै केही नेताले समेत आमनागरिकका आर्थिक समस्या समाधानका लागि अझ प्रभावकारी कदम आवश्यक रहेको बताएका छन्। यद्यपि ट्रम्पले यस्ता आलोचनालाई अस्वीकार गर्दै आएका छन्।

सम्बोधनमा ट्रम्पले अमेरिकी सैन्य बलको भूमिकाको प्रशंसा गर्दै क्रिसमसभन्दा अघि १४ लाख ५० हजारभन्दा बढी सैनिकलाई एकमुस्ट रूपमा ‘योद्धा लाभांश’ प्रदान गरिने घोषणा पनि गरेका छन्।

तपाईको प्रतिक्रिया